चाैतारा । २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसाब अझै प्रष्ट नपारिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
समन्वय समितिको अनियमितता र जयवायु सम्मेलनको हिसाबकिताबको फरक फरक उजुरी रहेको छ । जलवायु सम्मेलनको सहआयोजक मध्ये एक संस्था र समन्वय समितिका कर्मचारीले भिन्नाभिन्नै उजुरी दर्ता गराएका हुन् । २०७७ फागुन १४ गते गरिएको उजुरीको दर्ता नम्बर अ–०२५४८० रहेको छ ।
जिल्ला समन्वय सिन्धुपाल्चोकको आयोजनामा मेलम्ची नगरपालिकाको गुफाडाँडामा आयोजना गरेको सो सम्मेलनको हिसाब अझै सार्वजनिक गरिएको छैन । विभिन्न संघसंस्था सहआयोजक रहेको सम्मलेनमा करोडौं रुपैयाँ अनियमितता भएको उजुरीमा उल्लेख गरिएको छ । देशभरका जिल्ला समन्वयका प्रमुखहरुको सहभागिता रहेको सम्मेलनमा प्रत्येक जिल्ला समन्वय समितिबाट रकम संकलन पनि गरिएको थियो । स्थानीय सहआयोजकले पनि लाखौं रुपैयाँ आयोजकलाई दिएका थिए ।
जिल्लाका गिटी, बालुवा व्यवासायीले पनि लाखौं रुपैयाँ सहयोग गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ संयोजक रहेको सम्मेलनको आर्थिक व्यवस्थापन पनि उनी आफैले जिम्मा लिएका थिए । कार्यक्रम सम्पन्न भए लगत्तै हिसाब मागे पनि सार्वजनिक नगरेको सहआयोजक मध्येको एक संस्थाले जानकारी दिएको छ । उक्त सम्मेलनका नाममा जिल्लाका विभिन्न सरकारी निकायहरुलाई रकम जम्मा गर्न लगाई उक्त रकम व्यक्तिगत घर निर्माणमा प्रयोग गरेको उनीमाथि आरोप लागेको छ । वर्षै साल कार्यक्रम गर्ने तर हिसाबकिताब लुकाउदै जाने प्रवृद्धि देखिएको भन्दै नागरिकले उनीहरुले अख्तियारमा उजुरी गरेका हुन् ।
उजुरीमा सम्पूर्ण आम्दानी तथा श्रोतको दुरुपयोग गरी जम्मा गरेको रकम समेत विगोमा कायम गरी जरिवाना असुल्न पनि उजुरीमा अनुरोध गरिएको छ । कुनै रोजगार नभएका प्रमुख तामाङले भर्खरैमात्र संघीय राजधानीमा भब्य महल पनि खरिद गरेको कारण त्यसको पनि छानविन गर्न पनि उजुरीमा माग गरिएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ