मेलम्ची । सिन्धुपाल्चोकस्तरीय महिला भलिबलको उपाधि हेलम्बु गाउँपालिकाले जितेको छ । बुधबार मेलम्चीमा भएको खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई ३–१ ले हराउँदै हेलम्बु गाउँपालिकाले नगद रु. १ लाखसहित कप र मेडल प्राप्त गरेको हो ।
दोस्रो हुने टीमले रु. ५० हजारसहित कप र मेडल प्राप्त गरेकाे छ । तेस्रो स्थान प्राप्त गर्ने मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाले रु. २५/२५ हजारका साथमा कप र मेडल प्राप्त गरेका छन् । सान्त्वना स्थान प्राप्त गर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाले रु. १० हजार र कप पाएको खेल संयोजक राजनमान श्रेष्ठले जानकारी दिए ।
हाम्रो टिम मेलम्चीको आयोजना र रेडियो मेलम्चीको सह–आयोजनामा भएको सो प्रतियोगिता सोमबार मेलम्ची बजारमा शुरु भएको थियो । मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा सो खेल भएको हो । खेलमा विभिन्न विधाका उत्कृष्ट ६ खेलाडीले तीन हजार नगद पुरस्कारका साथमा ट्रफी प्राप्त गरेका छन् । चार विधामा हेलम्बु गाउँपालिकाले पुरस्कार जितेको छ । यसमा उत्कृष्ट खेलाडी फुरल्हामु पाख्रिन, उत्कृष्ट स्पाइकर चाहना तामाङ, उत्कृष्ट डिफेन्डर रीमा भुजेल र उत्कृष्ट लिफ्टर अमिना तामाङ घोषित भए ।
त्यस्तै चौतारा साँगाचोकगढीकी सुस्मिता श्रेष्ठले उत्कृष्ट सर्भर र मेलम्ची नगरपालिकाकी रमिला तामाङले नव प्रतिभा खेलाडीको उपाधि पाउनुभएको मुख्य रेफ्री श्रीराम बोगटीले जानकारी दिए । समापन कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र उपप्रमुख भगवती नेपालले खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै शुभकामना व्यक्त गरे ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ