पुसको अन्तिम साता । २७ पुस २०७० । चिसो निक्कै बढेको थियो । बिहानै हुस्सुले काठमाण्डौलाई छपक्कै छोपेको थियो । म कोटेश्वरबाट बागबजारतिर हान्निएँ । गन्तव्य थियो प्रेमध्वज प्रधानको घर ।
गेट खुल्लै थियो । भित्र पसें । प्रेमध्वज फूलमा पानी हाल्दै थिए । मैले नमस्कार टक्र्याएँ । उनले मुस्कुराउँदै अभिवादन फर्काए । ‘हिजो फोन बाबुलेनै गर्नु भएको हो ?’ मैले हो भन्ने जनाएँ । उनले झारीलाई त्यहिँ छोडेर मेरो छेउ आए । हामी सँगै पहिलो तल्ला उक्लियौं । उनले बस्न आग्रह गर्दै भने– ‘आज घरमा कोहि छैनन्, म चिया बनाएर ल्याउँछु ।’ उनी भान्छातर्फ छिरे ।
म उनको बैठक कोठामा थिएँ । र्याककभरी लहरै मिलाईएका किताब, अर्को र्याकमा पुराना गीतका रिलचक्काहरु, देब्रे भित्तामा सम्मान/अभिनन्दन पत्रहरु, पुराना फोटाहरु । भित्तापट्टिको टेबुलमा हार्मोनियम, गितार र तबला, टेबुलभरी असरल्ल छरिएका किताब र डायरीहरु । म यी सबै नियाल्दै थिएँ, उनी आईपुगे दुईकप चिया बोकेर ।
मैले चियाको कप समातें । ‘ग्रीन टी हो, स्वास्थ्यलाई निक्कै फाईदा पुग्छ’, उनले भने । म एउटा अन्तरवार्ताको क्रममा पुगेथें उनीकहाँ । ७७ वर्ष उमेरमा पनि जवान देखिन्थे उनी । छ पुस्ता अघि भक्तपुरबाट सिन्धुपाल्चोकको चौतारा बसाईं सरेर आयो उनको परिवार । र, चौतारामै जन्मिए प्रेमध्वज प्रधान ।
चटक्क मिलाएर कोरेको कपाल, कसिलो र छरितो जीउ, अनुहारमा हरदम मुस्कान । ‘अहिले पनि फुतिर्लो देखिनुहुन्छ,’ म कुरा सुरु गर्छु । प्रेमध्वज लजाउँछन् ।
‘खानपानले होला, २३ वर्षदेखि साकाहार छु,’ मुस्काउँदै जवाफ दिन्छन् । उनको जवानीका अरु रहस्य ‘व्यायाम र संगीत साधना’ हुन् । उनलाई दुःखी प्रकाशन सिन्धुपाल्चोकले पहिलो पल्ट सम्मान समेत गर्याे । २०५१ साल फागुन १५ गते । श्यामप्रसाद शर्मा प्रमुख अतिथि थिए । चौताराको जिविस हलमा सम्मान ग्रहण गरेको उनलाई अहिले पनि सम्झना छ, ‘त्यो सम्मान मेरो लागि निक्कै ठूलो थियो । मेरो जन्मभूमिको सम्मान ।’ उनी भावुक भए ।
०००
आमा प्राणदेवी रेडियोमा भजन गाउँथिन् जसबाट उनलाई विरासतमै संगीत मिलेका हो । ‘आमाकै देन हो, म संगीतमा हुनु,’ प्रेमध्वजले भने । २००९ सालमा उनले रेडियो नेपालको स्वरपरीक्षा पास गरे, ‘क’ श्रेणीमा । तलत मोहम्मदको ‘दिल–ए–नादान’ फिल्मको गीत गाएर । रेडियोमा मासिक दुई–तीनवटा गीत गाउने मौका पाउन थाले । एउटा गीत गाएको दस रुपैया“ पारिश्रमिक दिईन्थ्यो त्यो बेला । रेडियोबाट लाइभ गीत गाउनुपथ्र्यो । यता गायो कि उता बज्थ्यो ।
रेडियोमा भने एकपटक बजेपछि सकिन्थ्यो । कहिलेकाहि“ फेरि गाउने मौका पाइन्थ्यो त्यही गीत । अर्कोपटक गाउँदा पनि १० रुपैयाँ । त्यतिखेर गाएका गीतमध्ये भूपि शेरचनको ‘यो नेपाली शीर उचाली’ले अहिले पनि संगीतप्रेमिको हृदय झंकारित गर्छ । कतिपय गीत सम्झनामै थिएनन् उनका । आमाकै प्रेरणाले प्रेमध्वजले युवावस्थामै २५ वटाभन्दा बढी भजन गाएका थिए तर अहिले ती कतै छैनन् । ‘एकदुइटा चाहि“ मस“ग अझै छन्, अरु त कता गए कता,’ उनले भने ।
भेडासिंहस्थित कपास पसलको व्यापारी लक्ष्मण श्रेष्ठ त्यसताका प्रेमध्वजका मिल्ने साथी थिए । लक्ष्मणसँग पैसा हुने नै भयो, व्यापारी जो परे । अनि प्रेमध्वजका शौखहरू उनले नै पूरा गरिदिन्थे । ‘चिया खुवाउने, हलमा लगेर फिल्म देखाउने, उही हो,’ प्रेमध्वजले लक्ष्मणलाई सम्झिएँ । उनकै पसलमा भेटिए नारायणगोपाल । पसलमा बसेर नारायणगोपाल फलेक ठोक्दै गीत गाउँथे । भेटघाट बाक्लदै जाँदा दुबै अनन्य मित्र बने । प्रेमध्वजले नारायण गोपाललाई चौतारासमेत लगे । ‘हामी काठमाडौंबाट हिँड्दै चौतारा पुग्यौं, १५ दिनजति बस्यौं होला । हामीले त्यहाँका युवाहरुलाई दैनिक गीत संगीत सिकाउँथ्यौं, हामी पनि गाउँथ्यौं’, उनले सम्झिए । प्रेमध्वजले नै नारायणगोपाललाई स्वरपरीक्षा दिन उक्साएका थिए २०१६ सालमा ।
२०६० सालसम्म प्रेमध्वजले रेडियोमा गीत रेकर्ड गराए, लगातार ५० वर्ष । सुरुवाती चरणमा रेडियोमा गीत रेकर्ड गराउँदा ७ सय रुपैयाँ पारिश्रमिक पाएको सम्झिए । त्यो नौ सालको कुरा थियो । ‘त्यतिबेलाको १० रुपैयाँ त कति हुन्थ्यो कति !’, उनले भने ।
नेपालमा २०२३ साल अघिसम्म रेकडिर्ङ गर्ने व्यवस्था थिएन । सन् १९६२ मा कलकत्ता गएर चारवटा गीत रेकर्ड गराए उनले पहिलोपल्ट । ‘माया नमार मायालु’, ‘गोरेटो त्यो गाउँको,’ ‘तिमी आयौ मेरो दिलमा’ र ‘रुक या नरुक’ । उनलाई कलकत्ता जान धर्मराज थापाले सउक्साएका थिए । ‘हिन्दुस्तान रेकडिर्ङ कम्पनीमा किरण सहगल र धर्मराज थापाको उत्राउत्रै तस्बिर राखेको देख्दा म छक्क परेको थिएँ,’ प्रेमध्वजले सम्झिए । थापाका गीत उसबेलै नेपालीमाझ चचिर्त भइसकेका थिए । त्यसपछि प्रत्येक वर्ष उनी गीत रेकर्ड गर्न कलकत्ता जान थाले । लगातार चार वर्षमा उनले कलकत्तामा २४ वटा गीत रेकर्ड गराए ।
सन् १९६९ मा उनी मुम्बई गए, घुम्न । ८ महिना बसे । त्यसअघि संगीतकार जयदेवलाई माइतीघर फिल्मको लागि अडिसन दिएका थिए । त्यही फिल्मका लागि गीत रेकडिर्ङ गर्न उनी केही वर्ष अघि पहिलोपल्ट बम्बै गएका थिए । मुम्बई रमाइलो लागेको थियो उनलाई । त्योबेला उनले उषा मंगेशकरसँग ‘नमान लाज यसरी’ भन्ने गीत गाएका थिए । अरुणा लामा पनि माइतीघरका लागि एउटा गीत गाउन मुम्बई पुगेकी थिइन् । त्यही बेला उनले मुम्बईको चमकदमक देखे । लता मंगेशकर र आशा भोसलेसँग तस्वीर खिचाए ।
ती आठ महिना उनको जीवनका स्वर्णकाल थिए । अहिलेसम्म बिर्सर्दैनन् उनी त्यो समय । त्यहाँ उनले लता, रफीले गीत गाएको हेरे । मुकेश, मन्नाडे, जयदेव, मनहरि सिंह, कल्याणजी आनन्दजी, लक्ष्मीकान्त प्यारेलाल, सलिम चौधरी, मदनमोहनले काम गर्ने तरिका नजिकबाट हेर्ने मौका पाए । त्यही बेला मुम्बई बस्दा उनले दशवटा गीत रेकर्ड गराएका थिए । ‘घुम्तीमा नआऊ है’ त्यही बेलाको गीत हो ।
‘तोरी फूल्यो’, ‘गुलाबी घुम्टो’, ‘तारामात्र होइन तिमी’, ‘आइजाउ हामीनेर’ जस्ता गीत उनले त्यही बेला रेकर्ड गराएका हुन् । गीत यहीँबाट बोकेर गएका थिए । संगीत आफ्नै । त्यस क्रममा उनलाई मनोहरी सिंहले सघाएका थिए । नोट उनैले लेखिदिएका थिए । रेकडिर्ङको व्यवस्था उनैले गरिदिएका थिए ।
०००
४० सालमा पहिलोपटक उनको ‘गोल्डेन भ्वाइस अफ प्रेमध्वज’ भन्ने एल्बम निस्कियो । सबै हुल भएर लाइभ गाउनुपर्ने जमानाका प्रेमध्वजले ‘जीवनसंघर्ष’ भन्ने नेपाली सिनेमाको लागि बम्बईमा साधना सरगमसँग दुईवटा गीत गाए तर साधनासँग भेट्नै परेन । ‘उनले आफ्नो स्वर रेकर्ड गराइसकेकी रहिछन्, मैले पछि गाएर आफ्नो गीत गाएँ,’ उनले प्रविधिको फाइदा सुनाए ।
‘अहिले नेपालमा राम्रा गायक छैनन्,’ प्रेमध्वजले भने ।
‘किन ?,’ मैले सोधें ।
‘गीत गाएर बाँचिदैन नेपालमा, साधना गर्न पर्याप्त अवसर नभएपछि कसरी राम्रो गायक बन्न सकिन्छ ?’ उनले उल्टै प्रश्न गरे । नयाँ गायकलाई सुझाव समेत दिए, ‘राम्रो जागिर खाएरमात्र गीत गाऊ । नेपालमा बजार छैन, पैसा छैन । गीतसंगीत सुस्ताएको छ । जो गाउँदै छन्, दुःखसँग गाउँदै छन् । स्टेज पर्फमेन्सको सहारा छ– महोत्सव, दुबई, कतार, मलेसिया ।’
गीत संगीतको कुरा गर्दै गर्दा उनी नोस्टाल्जिक बने । जुरुक्क उठे र गीतार झिकेर ल्याए । उनको थर्थराईरहेका औंला गितारको तारमा स्पर्शित भए र उनको ओठबाट मधुर स्वर गुञ्जियो–
नमान लाज यस्तरी,
कि झुम्छ जिन्दगी मेरो
त्यो घुम्टो म उचालूँ कि, मुहार त्यो नियालूँ कि
भूलेर आफूलाई नै, हजुर मै हराऊँ कि
न मान लाज यस्तरी,
कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी…
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ