चौतारा । चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ९ जितपुरमा रहेको मित्रता संघले सिन्धुज्वालामा प्रकाशित समाचार नियोजित भएको जनाएको छ ।
संघका अध्यक्ष हरिचन्द्र भारतीद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तीमा प्रतिशोध साँध्ने मनसायले समाचार प्रकाशित भएको भन्दै खण्डन गरेको छ । ‘सिन्धुज्वालामा प्रकाशित ‘वडा अध्यक्ष नै गैरसरकारी संस्थाको जागिरे’ शीर्षकमा भ्रामक र कपोकल्पीत समाचार प्रकाशन भएकोप्रति ध्यानकर्षण भएको छ’, विज्ञप्तीमा भनिएको छ– ‘विष्णु लामा मित्रता संघमा २०७३ सालसम्म व्यवस्थापक रहेको स्थानीय निर्वाचन अगावै राजिनाम दिई स्वीकृत भएको जानकारी गराउँदछौं ।’
समाचारमा आएजस्तो अनियमितता नभएको र वडा अध्यक्ष लामाले संस्थाको भवनमा भोजभतेर लगाउने कार्य नगरेको संघका अध्यक्ष भारतीले जनाए । ‘संस्थाको नाम किटान गरेर बदनाम गर्न खोजिएको छ । संस्थाको बारेमा नकारात्मक कुरा आएको भए जिम्मेवार व्यक्तिको हिसाबले मलाई सोध्नु हुन्थ्यो होला, यो पूर्ण रुपमा भ्रम छर्न र चरित्र हत्या गर्न नियोजित रुपमा लेखिएको हो,’ भारतीले भने ।
‘संस्थाको विधान बमोजिम लामो समयदेखि यस संस्थाले जिल्लाको पहिलो बालगृह सञ्चालन गरिदै आएको अवगत गराउँदै अस्ट्रेलियाको सिएचईडी नेपालले अस्ट्रेलियन डलर ४ सय ६० को दरले वार्षिक प्रति बालक रु ४१ हजार ४ सय, बालगृहको २१ जनालाई कुल रु.८ लाख ६९ हजार ४ सय र सञ्चालन खर्चको लागि रु ९ लाख ३० हजार ६ सय प्राप्त भईरहेको र यस बालगृह सञ्चालन गर्न खाद्यान्न, लत्ताकपडा, स्टेशनरी र उपचार आदीलाई कुल खर्च २७ लाख लाग्नेमा चौतारा साँगाचोकगढी नगरपालिकाबाट वार्षिक रु.५ लाख र वडाबाट रु २ लाख सहयोग लिई नपुग रकम व्यक्तिगत सहयोग लिई यस पवित्र कार्यमा सञ्चालन गरिदै आएको सर्वविदिदै छ’, भारतीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
वडा अध्यक्ष विष्णु लामाले राजनितिक प्रतिशोधका कारण आफ्नो चरित्रहत्या गर्न खोजेको जनाएका छन् । उनले समाचारमा आएको कुरा पुष्टि नगरे कानुनी उपचारमा जाने जनाएका छन् । लामाले पनि प्रेस विज्ञप्ती जारी गर्दै समाचार तथ्यहिन र भ्रामक भएको बताएका छन् ।
हेर्नुस् मित्रता संघद्वारा जारी विज्ञप्तीः
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ