चौतारा । मेलचौर युवा जागरण समाजले आयोजना गरेको प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका– ७ मेलचौरमा सुरु भएको प्रतियागिताको पहिलो दिन ४ खेल भएका छन् । पहिलो खेलमा शून्यका विरुद्ध २ गोल गर्दै नेपाने युथ क्लबले एभरेष्ट क्लबलाई पराजित गरेको छ । नेपानेका लागि रोजल सापकोटा र प्रविन नेपालले एकएक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच पनि नेपानेकै सुजन तामाङ घोषित भएका छन् । प्रतियोगिताको दोस्रो खेल रानीपोखरी युवा क्लब र साँगाचोक युथ क्लबबीच भएको थियो । जसमा १ गोलको विरुद्ध २ गोल गर्दै साँगाचोकले रानीपोखरीलाई पराजीत गरेको हो । सो खेलका म्यान अफ द म्याच साँगाचोकको नबिन गिरी घोषित भए ।
तेस्रो खेल गिदाने युथ क्लब र जुनीयर १० बीच भएको थियो । निर्धारीत समयमा कुनै गोल हुन नसकेपछि टाइब्रेकरमा ४–२ गोलले गिदाने युवा क्लब विजयी भएको छ । सो खेलको म्यान अफ द म्याच भने गिदानेका समिर श्रेष्ठले प्राप्त गरे । पहिलो दिनको चौथो खेल चौतारा साँगाचोकगढी ४ र जागरण समाज छापबीच भएको थियो । वडा नं. ४ का लागि एक गोल आत्मघाती गोल भएको थियो भने सोनाम तामाङले एक गोल गरी २–० गोल अन्तरले चौतारा साँगाचोकगढी ४ विजयी भएको छ । सो खेलको म्यान अफ द म्याच ईश्वर तामाङ चुनिएका छन् ।
प्रतियोगिताको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले गरेका थिए । सो कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका– ७ का वडा अध्यक्ष उमाप्रसाद दुलाल, ज्ञानमन्दिर नमूना माविका प्रधानाध्यापक तुलसीप्रसाद दंगाल, युवा नेता रामकृष्ण दंगाललगायतले शुभकामना व्यक्त गरेका थिए । २० टीम सहभागी सो प्रतियोगिताका लागि प्रत्येक टीमलाई म्याच बलसमेत प्रदान गरिएको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ