हेटौंडा । बागमती प्रदेशको मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् ।
प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मूख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मूख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । सत्तारुढ दल वा सत्ता साझेदार दल विभाजन भएपछि संविधानतः ३० दिनभित्र मूख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता अनुरुप मूख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरेकी थिइन् । सो प्रस्तावमाथि छलफल भइ मूख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा राजीनामा घोषणा गरेकी हुन् ।
राजीनामा दिएलगत्तै मूख्यमन्त्री शाक्यले आफू संविधान विपरीत सत्तामा नबसेको दाबी गरेकी छन् । अल्पमतका बाबजुद सत्ता लम्ब्याएको आरोप लागेको सन्दर्भमा उनले यस्तो प्रस्टोक्ति दिएकी हुन् । ‘संविधानतः ३० दिनभित्र विश्वासको मतसम्बन्धी सूचना जारी गर्नुपर्ने र त्यसपछि छलफल तथा थप प्रक्रिया अघि बढ्ने हो । हामीले ३० दिनभित्रै सूचना जारी गरेर विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाएका कारण संविधानअनुरुप नै सत्तामा यतिन्जेल रहेँ ।’
राजीनामा दिनुको कारण खुलाउँदै उनले संघीयतामा सिकारुजस्तै भएकाले यस्तो बेलामा प्रदेशमा बेमेल धेरै सिर्जना गर्नु हुँदैन भन्ने लागेर बाटो खोलिदिएको बताइन् । ‘सत्ता पक्ष, प्रतिपक्ष एकापसमा मिलेर गएमात्र सुशासन, राजनीतिक स्थिरता कायम गर्न सकिन्छ,’ उनले भनिन्, ‘संस्कारयुक्त राजनीति सिकौँ र त्यस्तै व्यवहार गरौं भनेर राजीनामा दिएको हो ।’
योसँगै बागमती प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धनबीच यसअघि नै नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई जिम्मेवारी दिने सहमति भइसकेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ