नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– ५ कोइरालटारमा सामूहिक आलु खेती सुरु गरिएको छ ।
कोरोना महामारीका कारण रोजगार गुमाएका स्थानीय किसानले स्वरोजगार भन्ने लक्ष्य लिई १२ रोपनी जग्गामा सामूहिक आलु खेती सुरु गरेका हुन् । नयाँपानी भूमि अधिकार कृषक समूह र सिडिसिएफको सहकार्यमा १५ घर लाभान्वित हुने गरी यो वर्ष २० बोरा आलु रोपिएको हो । किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्याउन बिजवृद्धि सहित परियोजना सञ्चालन गरिएको नयाँपानी भूमि अधिकार कृषक समूह र सिडिसिएफले जनाएको छ ।
निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न समुहमार्फत् आलुको व्यावसायिक खेती परियोजना सञ्चालन गरिएको नयाँपानी भूमि अधिकार कृषक समूहका अध्यक्ष कुमार आचार्यले जानकारी दिए । महिला आत्मनिर्भरताको सुनिश्चितताको लागि महिलाहरूको ७० प्रतिशत सहभागिता रहेको आचार्यले बताए ।
यसअघि आफ्नै घरमा मात्र खपत हुने गरी आलु खेती गर्ने किसानले यो वर्ष भने परियोजनाअन्तर्गत व्यवसायीकरण आलु खेती गरेका हुन् । परियोजनाले किसानलाई आलु खेतीका बारेमा आवश्यक ज्ञान, सीप प्रदान र कृषि प्राविधिकसमेत सहयोग गर्ने छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ