चौतारा । नेकपा (माओवादी केन्द्र)ले पार्टीका ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ । जसमा सिन्धुपाल्चोकबाट एक उपप्रमुखसहित १३ जना समेटिएको छ ।
विषय विज्ञसमेत राखेर बनाइएको विभाग प्रमुख र उपप्रमुख भने पार्टीका नेताहरुलाई नै बनाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ स्कुल विभाग इञ्चार्ज बनेका छन् भने प्रमुखको जिम्मेवारी नेता गिरिराजमणि पोखरेलले पाएका छन् । नेता नारायणकाजी श्रेष्ठ विदेश विभाग प्रमुख बनेका छन् । संगठन विभाग प्रमुख भने अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा बनेका छन् । प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभाग र राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी दिइएको छ ।
नेता वर्षमान पुनले अर्थ तथा योजना विभागको जिम्मेवारी पाएका छन् । पूर्वमन्त्री बिना मगरलाई खानेपानी तथा सरसफाइ विभागको जिम्मेवारी दिइएको छ । यस्तै, डोरप्रसाद उपाध्यायले कोष तथा आर्थिक व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् भने खिमलाल देवकोटाले निर्वाचन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । माओवादीले हरेक विभाग ३५ सदस्यीय हुने जनाएको छ । तर, हाललाई सबै सदस्य नियुक्त गरिएको छैन ।
को–को परे सिन्धुपाल्चोकबाटः
साहित्य–कला तथा संस्कृति विभागको उपप्रमुखमा सरल सहयात्रीले जिम्मेवारी पाएका छन् । प्रचार तथा प्रकाशन विभागमा विष्णु सापकोटा ‘जुगल’ र दीपक सापकोटा, जलस्रोत–सिंचाई तथा उर्जा विभागमा माधव सापकोटा र गोरे शेर्पा, विदेश मामला विभागमा डा. रुपक सापकोटा, उद्योग वाणिज्य तथा आपूर्ति विभागमा मिना पाण्डे र श्रीबल्लभ नेपाल रहेका छन् ।
त्यस्तै पुस्तकालय तथा अभिलेख विभागमा कल्पना न्यौपाने, उपभोक्ता हित तथा आपूर्ति विभागमा देवकुमारी नेपाल, राष्ट्रिय सुरक्षा विभागमा धनन्जय शर्मा, समाज कल्याण विभागमा टिकाराम पराजुली र राजेन्द्र सापकोटा रहेका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ