चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको पार्टी नेकपा (माओवादी केन्द्र)को सदस्यता त्याग गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत नेकपा (माओवादी केन्द्र) परित्याग गरेको घोषणा गरेका हुन् । वडाध्यक्ष श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘नमस्कार, नेकपा (माओवादी केन्द्र) परित्याग गरियो आजबाट ।’ नेकपा माओवादी केन्द्रले राष्ट्रघाती एमसीसी सम्झौता पारितमा विभिन्न बहानामा सहयोग गरेकोले आजैबाट माओवादी केन्द्रको सदस्यता त्याग गरेको उनले बताए । उनी नेकपा (माओवादी केन्द्र) बाट वडा अध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि हुन् ।
संघीय संसदबाट एमसीसी पास भएसँगै नेकपा (माओवादी केन्द्र)को सदस्यता त्याग गर्नेर्को संख्या बढेको छ । चौतारा साँगाचोकगढी नगरपालिका– ५ का नेकपा (माओवादी केन्द्र) का संठठित सदस्य हरी श्रेष्ठले पनि पार्टी त्याग गरेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘प्रचण्डको राजनीतिक जीवनको ब्लण्डर भूल, जसका कारण मैले माओवादी पार्टी परित्याग गर्ने निर्मम निर्णय गरें । अलविदा !’
एमसीसी परियोजना अनुमोदन गर्न नेकपा (माओवादी केन्द्र) ले पनि सघाएको भन्दै कतिपय माओवादी नेता कार्यकर्ताले असन्तुष्ट जनाउँदै आएका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ