चौतारा । जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएसँगै अधिकांश विद्यालयमा पठनपाठन सुरु भइसकेको छ । तर पहाडी र हिमाली क्षेत्रका विद्यालयहरुमा भने अझै पाठ्यपुस्तक पुगेको छैन ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका विद्यालयमा पनि पाठ्यपुस्तक पुग्न सकेको छैन । गाउँपालिकाको शिक्षा शाखा अधिकृत मीनबहादुर धामीले पुस्तक किन आएन भन्दा छपाइमा ढिलो भएको जानकारी पाएको बताए । ‘किताब आएको छैन । किन ढिलाइ भन्दा नछापिएर भन्छन्,’ उनले भने– ‘अहिले भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ । पुरानै पाठ्यक्रम भएका कक्षाको पठनपाठन गर्न समस्या हुँदैन । नयाँ पाठ्यक्रम लागु हुने कक्षामा भने केही उपाय खोज्छौं ।’
सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ तयार गरी शैक्षिक सत्र २०७७ देखि शैक्षिक सत्र २०८० कक्षा १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागु गर्ने निर्णय गरेको थियो । सोही अनुरुप यही शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागु हुँदैछ । पाठ्यक्रम विकास केन्द्रले डिजिटल पाठ्यक्रम तथा पाठ्यपुस्तक वेबसाइटमा राखेको छ । तर त्यही सामग्री डाउनलोड गरेर पढाउन पनि सम्भव नभएको शिक्षकहरुको भनाई छ ।
सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुरुप शैक्षिक सत्र २०८० सालमा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागु गरिएपछि विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आइसक्नेछन् । कक्षा ५ को शैक्षिक सत्र २०७९ सालको विभिन्न २८ वटा विद्यालयमा परीक्षण पढाइका लागि पाठ्यपुस्तक तयार गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ