चौतारा । प्राकृतिक जडीबुटीको भण्डारका रूपमा चिनिने सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी पहिचान र सदुपयोग गर्न नसक्दा वर्षेनि खेर गइरहेको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइने चिराइतो, कुड्की, नागबेली, पाउडर झ्याउ, ठूलो ओखतो, लोठसल्ला, धुपी, सुनपाती, जटामसीलगायत जडीबुटीको सदुपयोग गर्न नसक्दा खेर गइरहेको हो । निकुञ्ज क्षेत्रको स्याउले, सेलाङ, गुम्बा, गोल्चे, गुन्सा, थाङपालकोट, भोताङलगायत जङ्गलहरूमा यस्ता जडीबुटी प्रशस्त मात्रामा पाइए पनि सदुपयोग हुन नसकेको पाँचपोखरी थाङपाल गाउँपालिका–५ का वडाध्यक्ष काले गोलेले बताए ।
अन्य जडीबुटी संकलन नभए पनि आंशिक रूपमा यार्सागुम्बा संकलन गर्न शुरू भएको वडा नम्बर ३ का अध्यक्ष नीमछिरिछ तामाङले बताए । यसअघि यस क्षेत्रमा बिरामी हुँदा धेरै कम मानिसले फार्मेसीबाट औषधि प्रयोग गर्ने र जडीबुटी नै प्रयोग गर्दै आएका थिए । तर, पछिल्लो समय जडीबुटीको प्रयोगमा कमी आएको भोताङका नीरबहादुर तामाङले बताए । ‘जे भए पनि यहीँको झारपातलाई औषधि बनाएर खाने गथ्र्यौं,’ उनले भने ।
राजधानी काठमाडौंबाट नजिक रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारी इन्द्रबहादुर गुरुङले जडीबुटीको सदुपयोग नहुँदा दुःख लागेको बताए । ‘यस क्षेत्रमा पाइने महत्त्वपूर्ण जडीबुटी पहिचान गरेर यसको सदुपयोग गर्न सके यस क्षेत्रका बासिन्दालाई आर्थिक रूपमा थप मद्दत पुग्न सक्थ्यो,’ उनले भने । रासस
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ