चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको जुगल बोर्डिङ माद्यमिक विद्यालय र नगर बाल सञ्जालले देउसी भैलो नृत्य प्रतियोगिता गरेको छ ।
शुक्रबार भएको नगरस्तरीय अन्तर विद्यालय देउसी भैलो नृत्य प्रतियोगितामा बनदेवी माद्यमिक विद्यालय प्रथम भएको छ भने जुगल बोर्डिङ माद्यमिक विद्यालय द्वितीय बन्न सफल भएको छ । प्रथम र द्वितीय हुने विद्यालयलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै जुगल बोर्डिङ माद्यमिक विद्यालयले गरेको विद्यालय स्तरीय देउसी भैलो नृत्य प्रतियोगितामा ऋति एण्ड टीम प्रथम, अनिषा एण्ड टीम द्वितीय र महिमा एण्ड टीम तृतीय भए । १२ टीम सहभागि प्रतियोगितामा विजेता टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
नृत्य प्रतियोगिताको मूल्याङ्कन सिन्धु कला मन्दिरले गरेको थियो । मन्दिरको तर्फबाट उपाध्यक्ष मिना थापा, सचिव सुन्दर शिरीष र सदस्य हेमन प्रधानले १ सय ५० पूर्णाङ्कमा प्रतियोगिताको मूल्याङ्कन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले संस्कृतिको जर्गेना गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् । ‘अहिले हाम्रो कला, संस्कृति लोप हुने खतरामा छ, बालबालिकाहरु प्रविधिको पहुँचमा छन् र त्यतैतर्फ बढी ध्यान दिँदा संस्कृति हराउँदै गएको छ’, उनले भनिन्– ‘विद्यालयहरुले यस्ता संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमहरुलाई प्रोत्सहान गर्न जरुरी छ ।’
बालबालिकाहरुलाई संस्कृतिप्रति रुची जगाउँदै त्यसको संरक्षणमा लाग्न प्रेरणा प्रदान गर्न प्रतियोगिताको आयोजना गरेको चौतारा साँगाचोकगढी नगर बाल सञ्जालका अध्यक्ष सुजन श्रेष्ठले बताए ।
विद्यार्थीको क्षमतालाई प्रष्फुटन गर्न विद्यालयले नियमित कार्यक्रम गरिरहेको बताउँदै जुगल बोर्डिङ माद्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रकास उप्रेतीले सोही कार्यक्रमको निरन्तरता देउसी भैलो नृत्य प्रतियोगिता भएको बताए । विद्यालयले अतिथीहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ