चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका– ६ मा अवस्थित गौराती भीमेश्वरमा शुक्रबारबाट मेला सुरु भएको छ ।
हरेक कार्तिक पूर्णिमाको दिनबाट सुरु भई पञ्चमीका दिनमा सकिने गौराती मेला आजबाट सुरु भएको हो । गौरती भिमेश्वरको मेला जिल्लाको सबैभन्दा ठूलो मेला मानिन्छ । मेला भर्न दोलखा, काभ्रे, रसुवा, नुवाकोट, भक्तपुर, काठमाडौं लगायत देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरू आउने गरेका छन् । सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने गौरतीडाँडामा अवस्थित भीमेश्वर मन्दिरसम्म पुग्न यातायातको समेत सुविधा छ ।
चौताराको पुरानो बजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगी पूणिमाको रात गौरती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ । गुठियारको घरघरमा समेत पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रा सहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ ।
पौराणिक कालमा जंगल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले राति–राति एउटा ढिस्कोमा दुध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ती प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकोले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ । ‘गौ’ अर्थात गाईले राति दुध चढाएको कारण गौरती र भूमि खनेर उत्पत्ति भएकोले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ